झापा- झापाको बिर्तामोड नगरपालिकाद्वारा आयोजित माध्यमिक तहका विद्यार्थीका लागि उद्घोषण तथा समाचार लेखन तालिम सोमबार सम्पन्न भएको छ।
नगर क्षेत्रका चालिस जना विद्यार्थीलाई उक्त तालिम दिइएको हो। नगरपालिका कार्यालयको सभाहलमा सम्पन्न तालिमको प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र हुनुहुन्थ्यो।
उहाँले विद्यार्थीलाई सबभन्दा पहिला आत्मविश्वास बढाउन आग्रह गर्नुभयो। कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले सिक्ने अवसर कतैबाट आए नछोड्न विद्यार्थीलाई आग्रह गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले विद्यार्थीलाई यस्ता तालिम दिन नगरपालिकाले सुरुवात गरेको र आगामी बर्षहरूमा यस्ता तालिमका लागि समय र बजेट व्यवस्थापनमा नगरपालिकाले ध्यान दिने बताउनुभयो।

कार्यक्रममा शिक्षा अधिकृत जानुका रेग्मी, योजना अधिकृत जय तिम्सिना, पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारी तथा पत्रकार गणेश कोइरालाको उपस्थिति थियो।
तालिमको सहजीकरण अग्रज पत्रकार उमाकान्त खनालले गर्नुभएको थियो।

