झापा – अमेरिकाको भर्जिनिया राज्यमा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका छन्।
म्यानेसस पार्क प्रहरी विभागका अनुसार भर्जिनियाको म्यानेसस पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा भेटिएका हुन्।
बिहीबार राति करिब १०ः४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन (welfare check) गरिदिन अनुरोध गरेपछि यो घटना सार्वजनिक भएको हो।
घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको अवस्थामा फेला पारेको जानकारी दिए।
प्रहरीका अनुसार मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षीय बालक र ८ वर्षीया बालिका रहेका छन्। घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
यद्यपि, गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन।
मृतकहरूको शव परीक्षणका लागि म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ। प्रहरी विभागले यो घटना हत्या हो वा आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।
