काठमाडौँ- नेपालमा यस वर्ष सरदर मितिभन्दा १५ दिनअघि नै मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गर्दै बिहीबार रातिदेखि मनसुन पूर्वी नेपाल हुँदै प्रवेश गरी कोशी प्रदेशका अधिकांश भागमा फैलिएको जानकारी दिएको छ।
मनसुन सक्रिय भएसँगै कोशी प्रदेशका धेरैजसो मौसम केन्द्रमा हल्कादेखि मध्यम खालको वर्षा भएको विभागले जनाएको छ। विभागका महानिर्देशक कमलराम जोशीका अनुसार नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने गर्छ, तर यस वर्ष मे २९ मै मनसुन भित्रिएको हो।
“देशका बाँकी भागमा भने अझै केही समयपछि मात्र मनसुन फैलिने देखिन्छ,” जोशीले भने, “हाल ती क्षेत्रमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव कायम छ।”
मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा जानकारी अद्यावधिक गरिने पनि उनले जानकारी दिए।
विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरेको छ। विभागद्वारा प्रकाशित मौसमको पूर्वानुमान अनुसार जेठ १८ देखि असोज १४ सम्मको मनसुन अवधिमा देशका धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।
जोशीका अनुसार, कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र र गण्डकी प्रदेशका अधिकांश भूभागमा ५५ देखि ६५ प्रतिशतसम्म बढी वर्षा हुने सम्भावना छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी भाग, लुम्बिनी प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भाग, बागमती र कोशी प्रदेशको उत्तरी क्षेत्रहरूमा ४५ देखि ५५ प्रतिशतसम्म बढी वर्षा हुने अनुमान छ।
मधेस प्रदेशका पूर्वी तथा दक्षिणी क्षेत्रहरूमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने देशका अन्य भागहरूमा पनि यस्तै प्रतिशतको सम्भावित वर्षा रहने विभागले जनाएको छ।
