झापा– झापाको मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित चिया बगानभित्र फुलेका ‘सोना गुलाबी’ फूलहरूका कारण सो स्थान यतिबेला पर्यटकीय गन्तव्यमा परिणत भएको छ।
पूर्वीनाका काँकडभिट्टाबाट तीन किलोमिटर दक्षिणमा रहेको सतिघट्टा चिया बगानको करिब चार बिघा क्षेत्रमा रहेका एक सय वटा ‘सोना गुलाबी’ रुखहरू ढकमक्क फुलेर राताम्य भएका छन्।
हरियाली चिया बगानको माझमा चौरको वरिपरि फुलेका यी मनमोहक फूलहरूले प्राकृतिक वातावरणलाई रोमाञ्चक बनाएको कारण पर्यटकहरूको आगमन अत्यधिक बढेको वडाध्यक्ष प्रह्लादमणि ओलीले बताए।
“पहिले पनि यसरी नै फूल फुल्थ्यो, तर कसैले वास्ता गर्दैनथे,” वडाध्यक्ष ओली भन्छन्, “यसपाली मानिसहरू यति धेरै ओइरिन थाले कि, हामी पनि छक्क परेका छौं। व्यवस्थापन कसरी गर्ने भनेर हम्मे हम्मे परेको छ।”
सामाजिक सञ्जालबाट ‘सोना गुलाबी‘ भाइरल:
झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित बर्नेको सडकमा फुलेका ‘गुलमोहर’ फूलले व्यापक चर्चा पाएसँगै केही स्थानीयबासीले सतिघट्टाको ‘सोना गुलाबी’ फूल फुलेको तस्वीर सामाजिक सञ्जालमा राखेपछि यो स्थान पनि भाइरल भएको हो।
वडाध्यक्ष ओलीका अनुसार, यसरी टाढा टाढासम्मका पर्यटकलाई लोभ्याउन ‘सोना गुलाबी’ सफल भएको छ।
जेठको पहिलो सातादेखि यस स्थानमा दैनिक पाँच हजारको हाराहारीमा आन्तरिक पर्यटकहरू आउने गरेका छन् र उनीहरू फूलको सुन्दरतामा रमाउँदै फोटो तथा भिडियो खिचाउने गर्छन्। पर्यटकहरूको चहलपहल सोचेभन्दा बढी बढेपछि वडा कार्यालय र स्थानीय युवाले उक्त पर्यटकीय स्थानमा फोहोरमैला राख्ने डस्टबिन र फूलका हाँगा नभाँचिदिन सूचना बोर्डहरू राखिदिएका छन्।
आन्तरिक तथा भारतीय पर्यटकको आकर्षण:
यो सीमावर्ती क्षेत्र भएकाले भारतको पानीटंकी, नक्सलबाडी, खोरीबारी, अधिकारी र रामधुनजोतका भारतीय बासिन्दाहरू समेत मेची नदी तरेर दिउँसो घुम्न आउने गरेका छन्।
बगान नजिकै घर भएका शिक्षक जीआर धितालले जानकारी दिए, “यहाँ एकातिर हरियाली चिया बगान छ, अर्कातिर ठूला रुखका हाँगाभरि गुलाबी रंगका फूलहरू ढकमक्क छन्। मनमोहक वातावरण भएकाले मानिसहरू घुमफिरका लागि आएका हुन्।” उनका अनुसार, घुम्नका लागि खासगरी युवायुवती धेरै आउने गरे तापनि बालबच्चा लिएर आउने अभिभावकहरूको संख्या पनि उल्लेख्य छ।
स्थानीय सरकार र चुनौती:
आदर्श माध्यमिक विद्यालयका शिक्षक धितालले यसलाई दीगो पर्यटकीय स्थलमा परिणत गर्न खानेपानी, सुरक्षा, सरसफाई र बस्ने चौतारोहरूको प्रबन्ध स्थानीय सरकारले गरिदिनुपर्नेमा जोड दिएका छन्।
‘सोना गुलाबी’ फूलेको यो नयाँ पर्यटकीय गन्तव्यस्थल निजी स्वामित्वमा रहेको सतिघट्टा चिया बगानभित्र रहेकाले पूर्वाधारको दीगो प्रबन्ध गर्न कठिनाई रहेको छ। वडाध्यक्ष ओलीले बगानका सञ्चालकहरूसँग खाली चौर र फूल फुलेको लगभग चार/पाँच बिघा जग्गालाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सल्लाह भइरहेको बताए।
‘सोना गुलाबी‘ को पहिचान:
चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देबेन्द्र खरेलले बगानभित्र फुलेका फूलको रुखलाई स्थानीयबासीले ‘सिरिस’ भन्ने गरे तापनि त्यसको खास नेपाली नाम नभएको बताए। उनले यसको वैज्ञानिक नाम दक्षिण एसियाको रैथाने वनस्पति वर्गमा पर्ने ‘कासिया जाभानिका’ रहेको र पश्चिम बंगालमा यसलाई ‘लाली सोनालु’ भन्ने गरेको जानकारी दिए। खरेलले नै यसको नेपाली नाम ‘सोना गुलाबी’ राखेका हुन्।
गायक विश्वास उप्रेतीले ‘सोना गुलाबी’का फूल फुलेर राताम्य भएको चिया बगानमा पुगेर आफूले आनन्द लिएको र गीतको भिडियो रेकर्ड गराएको बताए। चहलपहल बढेसँगै सो स्थान वरपर खाजा पसलहरू खुलेका छन्।
स्थानीय कमल खनालले हरेक दिन सयौँ संख्यामा चारचक्के सवारी साधन र मोटरसाइकल लिएर पर्यटकहरू यहाँ आउने गरेको बताएका छन्।
