झापा– जंगली च्याउ खाएर बिरामी परेका इलामको माङसेबुङ ५ लारुम्बाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
झापाको सूर्योदय वडा नं. ४ ठूलो श्रीबुङस्थित आमत थुलुङ राईको घरमा डेरा गरी चिया टिप्ने काम गर्दै आएका उनीहरूले गत मंगलबार बेलुका जंगलबाट ल्याएको च्याउ खाएका थिए।
जंगलबाट ल्याएको च्याउ खाएपछि माङसेबुङ ५ लारुम्बा बस्ने ५२ वर्षीय अमर लावती, १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा थेगिम लिम्बू गत बुधबार दिउँसो सिकिस्त बिरामी परेका थिए।
उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा नुमा लावतीको गत शुक्रबार दिउँसो २:४० बजे विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा मृत्यु भएको थियो।
त्यस्तै, विराट नर्सिङमा उपचार सम्भव नभएपछि शुक्रबार राति ८:४५ बजे डिस्चार्ज गरी घर ल्याइएकी मनिसा थेगिमको पनि हिजो (शनिबार) साँझ ६:४० बजे माङसेबुङ ५ लारुम्बास्थित आफ्नै घरमा मृत्यु भयो।
अस्पतालमा उपचारपछि घरमै राखी उपचार गराइरहेका अमर लावतीको पनि आज (आइतबार) साँझ ६:१५ बजे मृत्यु भएको मृतकका छोराले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
