बिर्तामोड- बिर्तामोड नगरपालिका भित्र संघ, प्रदेश र नगरपालिकाको संयुक्त लगानीमा चारवटा ठूला सडक योजनाको काम तीव्र गतिमा अघि बढेको छ। नगरका मुख्य सडकहरू हर्कलाल मार्ग, बुट्टाबारी-प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र सहिद चन्द्रमार्गको विभिन्न खण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको नगरपालिकाले जनाएको छ।
हर्कलाल मार्ग: पूर्व पश्चिम राजमार्गस्थित देउराली होटलदेखि धौलापुल आदर्श चोकसम्मको यो सडक तीन खण्डमा स्तरोन्नति भइरहेको छ। राजमार्गसँग जोडिएको देउराली पछाडिको भागमा १ करोड १३ लाख ४६ हजार रुपैयाँको लागतमा धनेश्वर कन्स्ट्रक्सनले नाला निर्माण गरिरहेको छ। सडकको बीच खण्डमा ६ करोड रुपैयाँको लागतमा सरोज निर्माण सेवाले १ हजार ९५ मिटर क्षेत्रमा काम गरिरहेको छ। तल्लो ४ सय ५० मिटर क्षेत्रमा भने कौशल्या विल्डर्सले १ करोड ११ लाख २१ हजार रुपैयाँमा कालोपत्रे सम्पन्न गरिसकेको छ। सडकको अन्तिम भागमा गत आर्थिक वर्षमै ४ करोड ६१ लाख रुपैयाँको लागतमा १ हजार ५६ मिटर सडक स्तरोन्नति सम्पन्न भएको छ।
बुट्टाबारी-प्याकुरेल चोक सडक: वडा नम्बर ६ देखि ८ सम्म ६ हजार २ सय ५८ मिटर लामो यो सडक ५८ करोड रुपैयाँको विश्व बैंकको लगानीमा आरपी साप समता जेभीले निर्माण गरिरहेको छ। हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको र जेठको तेस्रो सातासम्म कालोपत्रे सुरु हुने ठेकेदारले जानकारी दिएका छन्।
गोकुल जोशी मार्ग: वडा नम्बर ३ देखि २ हुँदै कनकाई नगरपालिका जोड्ने यो सडक तीन खण्डमा स्तरोन्नति भइरहेको छ। चारपाने-घैलाडुवा खण्डदेखि पश्चिम घाग्रा पुलसम्म १ किलोमिटर सडकमा सडक डिभिजनको ६ करोड रुपैयाँ बजेटबाट शान्ति निर्माण सेवाले नाला निर्माण गरिरहेको छ। कछुवारीदेखि दाहाल गाउँसम्म ७ सय मिटरमा १ करोड ४४ लाख रुपैयाँको लागतमा जय लक्ष्मी निर्माण सेवाले नाला र डिभाइडर निर्माण गरिरहेको छ। दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म १ किलोमिटर क्षेत्रमा कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको २ करोड ६० लाख रुपैयाँको समपूरक बजेटबाट कालोपत्रेको तयारी अन्तिम चरणमा पुगेको छ।
सहिद चन्द्रमार्ग: बिर्तामोड र हल्दिबारी गाउँपालिका जोड्ने यो सडक पनि स्तरोन्नतिको क्रममा छ। यहाँ तीन खण्डमा काम भइरहेको छ। ५ करोड ६० लाख रुपैयाँको लागतमा १ हजार ९ सय ६० मिटर सडकमा सिद्दीथुम्का एभरग्रिन जेभीले ४० प्रतिशत काम सम्पन्न गरेको छ र १५ दिनभित्र कालोपत्रे हुने बताइएको छ। अर्को खण्डमा ट्रस्ना निर्माण सेवाले ६८ लाख ९३ हजार रुपैयाँमा २८५ मिटर क्षेत्रमा काम गरिरहेको छ भने नाम्लाक निर्माण सेवाले १ करोड ५ लाख रुपैयाँमा ४ सय ७० मिटर खण्डमा डेमोक्रेसन वालसहित १५ दिनभित्र कालोपत्रे गर्ने तयारी गरेको छ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरमा सडक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको र निर्धारित समयमा काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिइएको जानकारी दिइन्। चालु आर्थिक वर्षमा साना ठूला गरी करिब २ अर्ब रुपैयाँभन्दा बढीको योजना सञ्चालन भइरहेको उनले बताइन्।
