झापा- सोमबार दिउँसोदेखि झापाका विभिन्न स्थानहरूमा आएको तीव्र हावाहुरी र अविरल वर्षाका कारण लाखौं रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। स्थानीयबासी प्रभावित भएका छन् भने मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ।
प्राप्त विवरणअनुसार मेचीनगर नगरपालिका वडा नं. १५ स्थित धुलाबारीमा रहेको कामक्ष इण्डष्ट्रिज प्रा.लि. (प्लाई उद्योग) मा पानीसहितको हावाहुरीले पिलिङ भवनको पश्चिमतर्फको ट्रस्ट र जस्ताले बनेको छाना उडाएको छ।
सोही स्थानमा जडान गरिएको एउटा सीसीटीभी क्यामेरासमेत फुटेका कारण करिब रु. २ दुई लाख २० हजार बराबरको क्षति भएको छ। घटनास्थलमा प्रहरी चौकी ज्यामिरगढीबाट प्रहरी टोली खटिएको थियो।
त्यसैगरी, दमक नगरपालिका वडा नं. ८ मा बस्ने दुर्गा प्रसाईको दुर्गा काटा गल्ला भण्डार पनि प्रभावित भएको छ। बर्षा र हुरीले स्टोर हलको ३५ वटा जस्ता पाता पूर्णरूपमा उडाएको छ भने फलामका पाइपहरु बाङ्गिएका छन्।
स्टोरभित्र राखिएको करिब ५५ देखि ६० बोरा फापर पानीले भिजेपछि कुल रु. १ लाख ५० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनाको अनुसन्धान तथा सहयोगका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली परिचालित गरिएको थियो।
यसैबीच हल्दिबारी गाउँपालिका वडा नं. ४ बलटोल निवासी ६९ वर्षीय सकलदिप साहको टिनको छाना र बाँसको टाटीले बनेको तीन कोठे कच्ची घर हावाहुरीले पूर्णरूपमा क्षति पुर्याएको छ। यसबाट रु. १ लाख ५० हजार बराबरको क्षति भएको हो। घटनास्थलमा प्रहरी चौकी जलथलबाट प्रहरी टोली खटिएको छ।
त्यस्तै, दमक नगरपालिका वडा नं. ४ संगम चोक बस्ने कमला अधिकारीको डेढ तले पक्की घरको माथिल्लो तलाको सिडी छोप्ने जस्ता उडाइ करिब रु. ३० हजार बराबरको क्षति पुर्याएको छ।
सोही वडामा बसोबास गर्दै आएका भीमप्रसाद सिक्देलको पक्की घरको माथिल्लो तलाका दुई वटा कोठाको जस्ता उडाई करिब रु. ६० हजार बराबरको क्षति भएको छ।
