झापा- झापा बिर्तामोडको कैलाशपति ट्रेडर्सबाट मात्र विद्यालय पोशाक किन्नुपर्ने बाध्यता निजी विद्यालय संचालकहरूले बनाएपछि त्यसविरुद्ध अभिभावकहरुले बिर्तामोड नगरपालिकामा उजुरी दिएका छन्।
बिर्तामोड नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका अधिकांश विद्यालयहरूले एउटै कैलाशपति ट्रेडर्सबाट मात्र विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था गरेका कारणले विद्यार्थी/अभिभावकहरूलाई भीडभाड भइ घण्टौसम्म लाइनमा बस्नुपर्ने, पालो नआएर पटक पटक धाउनुपर्ने जस्ता समस्या भोग्नु परिरहेको अभिभावकहरूले नगरपालिकासमक्ष उजुरी दिएका हुन्।
नगरपालिकाले एउटै ठाउँबाट मात्र विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था नगरी सबै विद्यालयहरूले विद्यार्थीहरूलाई ड्रेस कोड उपलब्ध गराइ अभिभावक स्वयंले नै पोशाक व्यवस्थापन गराउने व्यवस्था गर्न सवै विद्यालयहरुलाई निर्देशन दिएको छ। नगर शिक्षा अधिकारी तिलचन भण्डारीले सूचना जारी गरी त्यस किसिमको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
सबै विद्यालयले कैलाशपतिमै मात्र विद्यालय पोशाक किन्न पठाएपछि त्यहाँ अत्यधिक भीड हुने गरेको छ। भीडभाडका क्रममा विवाद पनि भएको थियो। अभिभावकहरूले झन्झट बेहोर्नु पर्दा आक्रोश पोखेको र पसल संचालकले नराम्रो व्यवहार गरेको बताइएको छ।
बिर्तामोडमा ५६ वटा निजी विद्यालय रहेका छन्। अधिकांशले त्यही कैलाशपतिमा विद्यालय पोशाक किन्न लगाउँछन्। पाठ्यपुस्तकदेखि विद्यालय पोशाक खरिदमा कमिशनको खेल हुँदै आएको अभिभावकहरू गुनासो गरेका छन्।