झापा- झापाको अर्जुनधारा जलेश्वरधाममा बुधबार १९ जोडीको सामुहिक बिवाह भएको छ। जलेश्वर धाम समितिको सक्रियतामा पहिलो पटक यहाँ सामुहिक विवाह भएको हो।
विश्व हिन्दु परिषद् नेपालले अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्लाका १९ जोडीको सामूहिक विवाह गराएको हो।
वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको आधारमा अभिभावकको उपस्थितिमा जोडीहरूको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको जलेश्वर धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए।
सामूहिक विवाहमा बरबधूलाई आवश्यक श्रंगारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरी, गाग्री खड्कुँलासहित भाँडा वर्तन र शुद्ध शाकाहारी खानाको व्यवस्थासमेत गरिदिएको उनको भनाइ छ।
अर्जुनधारा धाम विकास समितिले अर्को वर्षदेखि १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको जनाएको छ।