बिर्तामोड- बिर्तामोड नगरपालिकामा भूमि समस्या समाधान आयोगको शाखा कार्यालय उद्घाटन गरिएको छ ।
बुधबार एक संक्षिप्त कार्यक्रमका विच कार्यबाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कुनै प्रलोभनमा नपरी आयोगको काम गर्न कर्मचारीलाई निर्देशन दिए।

राजनीतिक दलहरुले निर्बाचनको समयमा भूमिहीनहरूको समस्या समाधान गर्ने, धनीपुर्जा वितरण गर्ने लगायतका आश्वासन बाँढ्ने गरेको भए पनि सरकारमा पुगेपछि प्रतिवद्धता अनुसारका काम नगर्ने र अन्य विवादमा अल्झिने गरेकाकारण जनता पीडित नै रहेको उनले गुनासो गरे ।
यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बिर्तामोडमा करिब २६ सय वटा निवेदन दर्ता रहेको जानकारी दिए। उनले वास्तविक भूमिहीन सुकुम्वासीको पहिचान गरेर व्यवस्थापनको लागि नगरपालिकाले पहल गर्ने पनि बताए ।
भूमि समस्या समाधान आयोग शाखा प्रमुखमा बिमल पोख्रेल, सर्भेक्षकमा शुशिल शिवाकोटी र अमिनमा प्रियंका राउत गरी ३ जना रहेका छन्।
कार्यालय उद्घाटनमा शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
