बनियानी । प्रमुख खाद्य बाली धानको उत्पादनलाई बृद्धि गर्न भन्दै सरकारले मंगलबारदेखि यस बर्ष सबभन्दा बढी धान फलेको झापामा धान सुपरजोन कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपरजोन कार्यक्रमको सुरुवात प्रधानमन्त्री पुष्पकमल दहालले गरे । उक्त परियोजनामा कृषकहरुले अनुदानमा साना सिँचाई, कृषि औजार लगायत सुविधा पाउने बताइएको छ ।
प्रधानमन्त्री दहालले भने, ‘झापा धान खेतीका लागि प्रख्यात छ । तर यस बर्ष सबभन्दा बढी धान फलेको आधुनिक कृषि प्रणाली प्रयोग गरेर होइन । तर अब भने कृषिमा आधुनिकीरकण विना उत्पादन बढाउन संभव छैन । त्यसैले यो परियोजना सफल बनाउन सबैमा आग्रह गर्दछु ।’
परियोजनाका लागि सरकारले कृषि उत्पादन सामाग्रीमा ५० प्रतिशत, प्राविधिक सेवामा सत प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार उपकरणमा ५० प्रतिशत, साना सिँचाईमा ८५ प्रतिशत, र पोस्ट हार्भेस्ट अथवा बाली उठाएपछिको पूर्वाधार निर्माणमा ८५ प्रतिशत अनुदान कृषक, कृषक समूह तथा कृषि उद्योगलाई उपलब्ध गराउने बताएको छ । धान सुपरजोन कार्यक्रमका प्रमुख मेघनाथ तिमिल्सिनाले अनुदान पाउनका लागि कृषक, कृषि सहकारी तथा कृषक समूह बैधानिक हुनुपर्ने बताए ।
प्रधानमन्त्री दहालले दलहरु बीच समझदारी बढ्दै गएकाले सदन खुल्ने विश्वास ब्यक्त गरे ।
उनले २०७४ माघ भित्र तीन वटै निर्वाचन हुने दावी समेत गरे ।
प्रधानमन्त्री दहालले धानमा आत्मनिर्भर बनाउनका लागि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ को स्थापना गरिएको बताए ।
यस वर्ष धान उत्पादन गर्ने जिल्लाको सूचीमा झापा सर्वोत्कृष्ट ठहरिएको थियो । झापामा यस पटक तीन लाख ३८ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
फरक प्रसङगमा बोल्दै प्रधानमन्त्री दहालले चारअली केचना सडक निर्माणमा भएको ढिलाइका विषयमा राजधानी फर्किए लगत्तै सडक विभागसंग स्पष्टिकरण लिने समेत बताए । उक्त सडक निर्माण सम्पन्न गर्ने भनि पटक पटक सिलान्यास भएपनि हालसम्म बन्न सकेको छैन ।