सर्लाही । सर्लाहीको पिपरियामा गएराति एक महिलाले आफ्नी तीन छोरीलाई विष सेवन गराई आफूले समेत आत्महत्या गरेकी छिन् ।

विष सेवनबाट पिपरिया गाविस वडा नम्वर –३ का रामाधार पण्डितकी श्रीमती ३० वर्षीया गुन्द्रु देवी र १० वर्षीया छोरी चन्दाकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनीहरुलाई उपचारका लागि जिल्ला मलंगवा लाने क्रममा बाटैमा मृत्यु भएको गाउँलेहरुले बताएका छन् । विष सेवनबाट गुन्द्रु देवीकी १३ वर्षीया छोरी पूजा कुमारी र तीन वर्षीया छोरी राधा कुमारी गम्भीर बिरामी परेका छन् । उनीहरुलाई मलंगवामा उपचार हुन नसकेपछि वीरगंज रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा गरिवीका कारण गुन्द्रु देवीले आफू सहित छोरीहरुलाई विष सेवन गराएको खुल्न आएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सीताराम रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ । मृतक गुन्द्रुदेवीका श्रीमान रामाधार पण्डितले गाउँघरमा ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका थिए ।