झापा- कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा कांग्रेसको कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि मुक्का हान्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू रिहा भएका छन्।
प्रमुख जिल्ला अधिकारीको इजलासमा बिहीबार भएको बयानपश्चात उनीहरू २५/२५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्। प्रहरीले उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दायर गरेको छ।
नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारीहरू शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठसँग प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बयान लिएका हुन्।
अभद्र व्यवहार गरेको कसूरमा माघ ६ गते इलाका प्रहरी कार्यालय बिर्तामोडले ३ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान गरेको थियो।
पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता थापामाथि माघ ५ गते साँझ आक्रमण भएको थियो।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा साँझ करिव ७ बजे कन्काई नगरपालिकाको जुकेखाडी कल्भर्टनजिक थापामाथि उनीहरूले मुक्का हानेका थिए।
बा १ झ ६५३ नं को गाडीमा घर फर्किँदै गरेका अर्जुनधारा ७ निवासी थापामाथि बा १ ञ १८७० मा सवार विद्युत प्राधिकरण सुरुङ्गाका ती कर्मचारीहरूले मुक्का हानेका थिए।
मुक्का प्रहारबाट थापा घाइते भएका थिए। उनको देब्रे आँखा सुन्निएको थियो। उनको बिर्तासिटी अस्पतालमा उपचार गरिएको थियो।
विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीले पूर्वमुख्यमन्त्री थापा चढेको गाडीलाई साइड नदिएको भन्दै विवाद भएको थियो।