झापा- आयोजनाको काम गर्न दिने र नदिनेबीचको तनावका माझ ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गरिने केवलकार निर्माणको काम पुनः सुरु गरिएको छ।
आयोजनाको बटम स्टेशनमा स्काभेटर प्रयोग गरेर केबरकार निर्माण कार्य सुरु गरिएको हो।
निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनका प्रोपाइटर इन्द्र केदेमका अनुसार मंगलवार बिहानबाट बटम स्टेशन क्षेत्रबाट काम अघि बढाइएको हो।
केदेमले आगामी १५ महिनाभित्र केवलकार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए।
गत कात्तिक २३ गते बटम स्टेशन क्षेत्रमा केवलकार निर्माणको शिलान्यास गरिएको थियो। उक्त दिन केवलकार निर्माणको विरोध र समर्थन गर्ने पक्षहरूबीच झडपसमेत भएको थियो। झडपका क्रममा केही व्यक्ति घाइतेसमेत भएका थिए।
निर्माण सामाग्रीसहित स्काभेटर लैजाँदा विवाद सिर्जना भए पनि अब कामले गति लिएको केदेमले बताएका छन्।