झापा- झापाको बुद्धशान्ति गाउँपालिकाले अस्पताल सञ्चालन गर्न तथा स्वास्थ्यसम्बन्धी सम्पूर्ण काम तथा नियमन गर्न स्वास्थ्य सेवा ऐन निर्माण गरेको छ।
उक्त विधेयकलाई सोमबार गाउँपालिका कार्यालयको सभाहलमा अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको १५ औं गाउँ अधिवेशनले पास गरेपछि ऐनको रुपमा आएको हो।
अब भागिरथा बुद्धशान्ति अस्पताल सञ्चालन तथा अन्य निजी अस्पतालहरूलाई नियमन गर्न कानुनी रुपमा सहज भएको छ।
त्यसैगरी सोमबार बसेको गाउँ अधिवेशनले संयोधित योजना तथा कार्यक्रमलाई पास गरेको छ। अधिवेशनले कृषि तथा पशुपंक्षी सम्बन्धी पहिलो संशोधन विधेयक २०८१ पनि पास गरेको छ।
२०७८ सालमा बनाइएको उक्त ऐनमा माछा पालनका लागि ३० कठ्ठा जमिन चाहिने व्यवस्था रहेकोमा संघ र प्रदेशको व्यवस्था अनुरुप ६ कठ्ठा जमिनको व्यवस्था राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले जानकारी दिए।
सोमबारकै अधिवेशनले बेरुजु नियमित गर्ने प्रस्ताव र सभाद्वारा गठन हुने समिति गठन/पुनर्गठन गर्ने प्रस्ताव पनि पास गरेको छ।
अधिवेशनमा सभासद्हरूको जिज्ञासाको जवाफ सभाध्यक्ष मनोज प्रसाईं तथा उपाध्यक्ष भवानीप्रसाद खतिवडाले दिएका थिए।
