झापा- नेपाली कांग्रेस कोशी प्रदेश समितिको आयोजनामा भोलि बुधबारदेखि कचनकवल – सगरमाथा जागरण अभियान सुरु हुँदैछ।
नेपालको सबैभन्दा होचो भूभाग कचनकवल स्तम्भमा सो अभियान सुरु हुन लागेको हो। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरूले अभियान शुभारम्भ गर्ने भएका छन्। अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने पार्टीका झापा क्षेत्र नम्बर ३ का सचिव गीताप्रसाद भट्टराईले जानकारी दिए। अभियानमा धेरै नेता कार्यकर्ताको उपस्थिति रहने जनाइएको छ।
सो अभियान आगामी असार २० गते विश्वकै अग्लो चुचुरो सगरमाथामा पुगेर समापन गरिने नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बताए। उनले संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार, जलवायु परिवर्तन प्रभाव र पहिचानको उद्धेश्य राखेर अभियान संचालन गर्न लागिएको जानकारी दिए। अभियानले नेपालको होचो भूभाग कचनकवलको समग्र विकासलाई समेत अगाडि पुर्याउन सहयोग पुग्ने बिश्वास लिइएको छ।
अभियान सात महिनासम्म चल्ने छ। ‘कोशी प्रदेशका १४ वटै जिल्लामा अभियानअन्तर्गत कार्यक्रम हुने छन्’ सभापति थापाले भने,‘कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षहरूको महत्वलाई अभियानका क्रममा उजागर गरिनेछ, समग्र प्रदेशको विकास, एकता र समृद्धिको सन्देशलाई अझ बलियो बनाउने हाम्रो अपेक्षा हो।’
संगठन सुदृढीकरण, पार्टीमा गुट–उपगुटको अन्त्य, भ्रातृत्वको सहअस्तित्व स्थापित गर्दै पार्टीलाई थप मजवुत र चलायमान बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने सभापति थापाको बिश्वास छ।
अभियानका लागि कचनकवल स्तम्भमा तयारी भइरहेको छ। समुन्द्र सतहदेखि ५८ मिटर उचाईमा नेपालकै होचो भूभागमा कचनकवल स्तम्भ रहेको छ। अभियान शुभारम्भका अवसरमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ।
