झापा- लागुऔषध सेवन गरेर सवारी साधन चलाउने कोशी प्रदेशमा दिनानुदिन बढ्दै गएको देखिएको छ।
केही दिन अघि झापामा लागुऔषध सेवन गरेका १४ जना चालक तथा सहचालकलाई मुद्दा चलाउने तयारी हुँदै गर्दा सुनसरीबाट पनि १४ जना लागुऔषध प्रयोगकर्ता सवारी साधनका चालक तथा सहचालक पक्राउ परेका छन्।
कोशी प्रदेशमा सवारी दुर्घटनाका घटना वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको टोलीले सवारी चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी साधन चलाउने १४ जना चालक र सहचालकलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताएका छन् ।
उनले कोशी राजमार्गका विभिन्न जिल्लामा आवतजावत गर्ने यात्रुबाहक बस तथा मालबाहक सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी साधनहरू चलाउँछन् भन्ने विशेष सूचनाको आधारमा इटहरी–धरान सडकखण्डबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
यात्रुहरूको ज्यान जोखिममा राखेर चालकले लागुऔषध सेवन गर्ने गरेको सूचना पाएको सुनसरी प्रहरीले ट्राफिक प्रहरी, कोशी प्रदेश प्रहरी अस्पतालका चिकित्सकहरूको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताए ।
लागुऔषध सेवन गरी सवारी चलाउनेमा मोरङ बेलबारी नगरपालिका वडा नं. २ बस्ने वर्ष २६ का चालक उज्वल श्रेष्ठ, कानेपोखरी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४६ का श्याम चौधरी, उर्लाबारी नगरपालिका वडा नं. ६ बस्ने वर्ष २२ का भुवन न्यौपाने, उदयपुर त्रियुगा नगरपालिका वडा नं.३ बस्ने वर्ष २८ का किरण थापा र वडा नं. ५ बस्ने वर्ष २२ का राहुल राई पक्राउ परेका छन् ।
झापाको गौरदह नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३९ का हरिबहादुर ठकुरी, कन्काई नगरपालिका वडा नं.१ बस्ने वर्ष ३५ का रूपलाल ऋषिदेब र मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने वर्ष १९ का सुमन बिकलाई पनि पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताए ।
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ बस्ने वर्ष २१ का अमिन राई, इटहरी उपमहानगरपालिका वडा नं. १३ बस्ने वर्ष २० का समिर मगर, वडा नं. २० बस्ने वर्ष ४१ का कृष्ण सुबेदी र वडा नं. १२ बस्ने वर्ष २८ का सुबोध चौधरी, वडा नं. २ बस्ने वर्ष ४१ का दिपक घले गुरूङ र तेह्रथुमको लालीगुराँस नगरपालिका–३ का २५ वर्षीय निश्चल कार्कीलाई पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
यता गत शुक्रवार झापाको कमल गाउँपालिकाको केर्खामा लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउँदा पक्राउ परेका १४ जनामाथि मुद्दा दायर गरिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर मुद्दा दायर गरिएको डीएसपी निशान थापाले बताए ।
लागुपदार्थ सेवन गरेर चालक र सहचालकले सवारी साधन चलाउँदा काँकरभिट्टाबाट धरान तथा बिराटनगर चल्ने धेरै सार्वजनिक सवारी साधनहरु दुर्घटनामा परेपछि गत शुक्रवार केर्खामा लागूपदार्थ सेवन परीक्षण कार्यक्रम राखिएको थियो । त्यस क्रममा १४ जनाले लागुऔषध सेवन गरेको भेटिएको थियो ।
