काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसदमा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताउनुभएको छ ।
संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यही पुस २२ गते काठमाडौँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा आज एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले राष्ट्रलाई विखण्डन गराउने गरी कुनै पनि संशोधन हुन नसक्ने बताउनुभयो ।
उहाँले ५ नं प्रदेशका तराई र पहाडलाई अलग बनाउने प्रस्ताव अन्ततः एक मधेस एक प्रदेश बनाउने मनसायले आएकाले आफूहरुले त्यस्तो प्रस्तावलाई संसदमा छलफल र पारित गर्न नदिने दाबी गर्नुभयो ।
नेपालको संविधान लोकतान्त्रिक चरित्रको भएपनि यसमा रहेका कतिपय कमजोरी क्रमशः सुधार गर्नुपर्ने तर हाललाई गतिशील दस्तावेजका रुपमा यसको कार्यान्वयनमा जानुको विकल्प नभएको उहाँको भनाई थियो ।