काठमाडौँ- सहकारी ठगी तथा संगठित अपराध मुद्दामा प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालत पर्साले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको बताइएको छ ।
पर्सा प्रहरी स्रोतका अनुसार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न जिल्ला अदालत पर्साले पक्राउ अनुमति दिएको हो । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ ।
यस अघि लामिछानेको पोखरा, रुपन्देही, काठमाडौँ तथा चितवनमा बयान भइसकेको छ।
गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्षका आधारमा अनुसन्धान भइरहेको छ ।