झापा- झापाको कन्काई ३ टप्पुमा भएको गौहत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने ४६ वर्षीय बुधन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन , भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन् ।
प्रहरीले तदारुकताका साथ खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
बुधन आलमलाई बाह्रदशी गाउँपालिका वडा नं.४ बाट पक्राउ गरिएको हो भने कुरेसा खातुन, दिलवर हुसेन र महिदा खातुनलाई भद्रपुर नगरपालिका वडा नं. ५ मेची पुलबाट भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले झापा जिल्ला अदालतबाट पशुपंछीसम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा ५ दिन म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।