झापा- झापाको बिर्तामोड नगरपालिकाले सामुदायिक कुकर बन्ध्याकरण शिविर सुरु गरेको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर बिहीबारदेखि पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा सुरु भएको हो ।
शिविर प्रारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले नगरका सबै वडाबाट सामुदायिक कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिइन् ।
छाडा कुकुरका कारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमासमेत क्षति हुने गरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्वपूर्ण रहेको उनले बताइन्। उनले यस कार्यमा सबै जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाहरुले सहयोग गर्नु पर्ने धारणा राखिन् ।
यस पटक २ सय वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरिने पशुपंछि तथा मत्स्य विकास शाखाका प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिए ।
बिर्तामोडमा सामुदायिक कुकुरको वन्धायकरण हरेक वर्ष हुँदै आएको छ । यस वर्ष हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोडले प्राविधिक सहयोग उपलव्ध गराएको छ । यस संस्थाका चिकित्सक सहित १२ जना भन्दा बढी जनशक्ति यस शिविरमा खटिएका छन्।
