झापा । सवारी दुर्घटनामा परी घाइते भएका झापाका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ।
कात्तिक १६ गते साँझ ६.१० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– ११ कृष्ण मन्दिरनजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय गणेश खड्कालाई ठक्कर दिएको थियो ।
घाइतेको बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमबार बिहान अन्दाजी ५ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
दुर्घटनापछि बस र बस चालक धनकुटा चौबिसे गाउँपालिका – ३ सोगुम बस्ने ४३ वर्षीय सुकबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुशील थापा मगरले बताए।
त्यस्तै सोही कात्तिक १६ गतेका दिन साँझ ६.३० बजे झापा गाउँपालिका वडा नम्बर ६ किरात चौकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको पनि सोमबार बिहान मृत्यु भएको छ।
सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ७ प ५७५९ नम्बरको १५० मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह लिङ्खा र उनका ७ वर्षीय छोरा अस्मिन लिङ्खालाई ठक्कर दिएको थियो। दुवै जना घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो।
घाइते बालक अस्मिनको उपचारका क्रममा सोमबार बिहान ५:१० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए।
दुर्घटनामा घाइते मोटरसाइकल चालक झापा गाउँपालिका ४ लसुना बस्ने २५ वर्षीय सुरजप्रसाद गणेशको शरणामति हेल्थ केयरमा उपचार भइरहेको छ भने मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २३ वर्षीय संजितकुमार गणेश सकुशल रहेका छन्।
प्रहरी चौकी शरणामतिले मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले जानकारी दिए।
