झापा । झापाको कन्काईबाट काठ तस्करीमा संलग्न पाँच जनालाई प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले पक्राउ गरेको छ।
कन्काईस्थित जामुनबारी सिमसार तथा जामुनखाडी सामुदायिक वनबाट काठ तस्करी गरी बेचेको आरोपमा पाँच जना पक्राउ परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।
गोप्य सूचनाका आधारमा वन समितिका पूर्व उपाध्यक्ष दिलकुमार राई, सन्तोष किस्कू, सन्तोष राई, लक्ष्मण लुंगेली, निर्मल सार्की पक्राउ परेको डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जीवन पाठकले जानकारी दिए।
घटनाका बिषयमा अनुसन्धान भइरहेको छ। अनुसन्धानको क्रममा पूर्व उपाध्यक्ष राई र स्थानीय सार्कीको चाहिँ चोरीमा संलग्नता पुष्टि नभएको उनले बताए। अहिले उनीहरु डिभिजन वन कार्यालय झापाको हिरासत कक्षमा छन्। उनीहरुलाई कात्तिक ६ गते इलाका प्रहरी कार्यालय सुरुङ्गा र सव डिभिजन वन कार्यालय कन्काईको टोलीले पक्राउ गरेको हो।
उनीहरूले वन हाताभित्र घाटगद्धी गरेको र घेराबारा गरेको साल र अन्य जातको करिब १८ किबि काठ चोरी गरेर सुरुङ्गास्थित युवराज खरेलको न्यू पाथिभरा फर्निचर उद्योगमा बिक्री गरेका थिए।
उनीहरूलाई अबैध रुपमा वन पैदावर चोरी निकासी मुद्धामा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।
उनीहरू दोषी देखिए तीन महिना कैद वा बिगोबमोजिम जरिवाना हुने कानुनी प्रावधान रहेको वन अधिकारीको भनाइ छ।
