झापा । विपदमा परेका झापाका चार मृतक परिवारलाई दुई लाख रुपैयाँका दरले राहत वितरण गरिएको छ।
असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण आएको बाढीपहिरो र डुबानलगायत विपत्का घटनामा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले राहत वितरण गरेको हो।
त्यसक्रममा झापाका चार परिवारले पाएका हुन्। राहत पाउनेहरुमा कमल गाउँपालिका– १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी, कचनकवल– १ की १४ वर्षीया नेहारिका राजवंशी, झापा गाउँपालिका–४ बस्ने मन्जुहक मिया र गौरीगञ्ज –८ बस्ने लीलाबहादुर गिरीको परिवार रहेका छन्।
चौधरी र राजवंशीको डुबेर मृत्यु भएको थियो भने मिया र गिरीको चट्याङ लागेर ज्यान गएको थियो। मृतक परिवारका सदस्यहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत दुई–दुई लाख रुपैयाँका दरले राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले बताए।
त्यस्तै जिल्लाका दुई अग्निपीडित परिवारलाई १५–१५ हजारका दरले राहत वितरण गरिएको उनले जानकारी दिए। राहत पाउनेहरुमा गौरादह– ५ का रणबहादुर दनुवार र हल्दिवारी– ३ का तारावल्लब गिरी रहेका छन्।
असोजको दोस्रो साता आएको अविरल वर्षाका कारण बाढीमा डुबेर झापामा ६ जनाको मृत्यु भएको थियो।
असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण आएको बाढीपहिरो र डुबानलगायत विपत्का घटनामा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले राहत वितरण सुरु गरेको हो।
