पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्।
आइतवार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्त केपी ओली हुने उनको आरोप थियो ।
ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको उनले बताए। उनले सरकारबिरुद्ध सबै जना देशभरबाट आन्दोलनमा उत्रिन आह्वान गरे ।
केपी ओलीको सरकार रहेसम्म देशले धेरै दुःख पाउने उनले बताए । उनले ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भइरहने बताए।
उनले भने, ‘मलाई न्याय अदालतले दिनेछ, म त्यसमा निर्धक्क छु । तर यो सरकारकोबिरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु । मेरो लागि होइन । अदालतले मलाई न्याय दिन्छ । न्यायालयप्रति धेरै नै विश्वास छ । तर केपी ओलीको सरकार रही रहने हो भने यो देशले धेरै दुःख पाउँछ । त्यसैले यो अधिनायकवादी सरकारकाबिरुद्ध यही बेलामा देशैभरबाट जो जो जहाँ जहाँ हुनुहुन्छ, मेरो लागि होइन देशका लागि बाहिर निस्किनुपर्ने बेला आउन सक्छ । यो सरकार रहुन्जेलसम्म यस्तै हर्कत गरिरहन्छ, झुटो मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ । केपी ओलीको शासन सत्ता रही रहेसम्म यस्ता अपराध भइरहन्छन् । भ्रष्टाचारीको संरक्षण गरेर, सारा सहकारी पीडितहरु पार्टीमा पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झ्ुटो मुद्दा लगाउने ? मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानविन गर्ने हो भने सबैभन्दा धेरै यो देशको भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । देशको प्रधानमन्त्री भएकोमा दुर्भाग्य छ ।’
उनले आफूलाई झुटो मुद्दामा फसाइएको भन्दै अदालतले न्याय दिने बताए। सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रवार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
