विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रामा मंगलबार ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार भएको छ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ । मंगलबार उद्धार यात्राका क्रममा उद्धार टोली झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरूको उद्धार तथा सेवामा खटिएको थियो।
मंगलबार ६ जना सहयोगापेक्षी मानवहरूको उद्धार भएको छ । जसमध्ये झापाको दमक नगरपालिकाबाट २ जना, मोरङको बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाको र विराटनगर महानगरपालिका १५, रामजानकी मार्गबाट १ जनाको उद्धार गरिएको हो । यात्राको पहिलो दिन सोमबार १० जना सडकआश्रित मानवहरूको उद्धार गरिएको थियो।
उद्धार गरिएका सडकआश्रित मानवहरूको मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा मंगलबार नै गृहप्रवेश गराइएको छ । साथै भोलि बुधबार सुनसरी जिल्लाको धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरूको उद्धार सेवा रहनेछ ।
