विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दसैँ नजिकिँदै गर्दा प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकावीच दसैँ मनाउन आग्रह गरेका छन्।
कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्याएकोले विपद्को सामना गर्दै एक आपसमा सहयोग, सद्भाव र भातृत्वका साथ यस वर्षको दसैँ मनाउन मुख्यमन्त्री कार्कीले आग्रह गरेका हुन्।
बडा दसैँको अवसरमा सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले विपद्लाई साहसमा बदल्न सवैको सहकार्य र हातेमालो जरुरी भएको बताए। उनले हाम्रो संस्कृति, हाम्रो गौरवका रुपमा रहेको बडा दसैँले नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले भनेका छन्,’दसैँले हामी सबैमा नयाँ उत्साह र उमंगका साथ असल कामहरू गर्न हौसला र सकारात्मक ऊर्जा प्रदान गर्न दूर्गा भवानीबाट आर्शीवाद प्राप्त होस्। मान्यजनप्रति श्रद्धा र सम्मान स्वःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व अझ बढी छ।’
