फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ।
वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन्। दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो।
क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउँछन् ।
“लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग हो । दसैँका बेला यसको विशेष महत्व रहन्छ । पिङमा झुल्दा आउने आनन्दको अनुभूति मात्र होइन, पिङले व्यक्तिहरूलाई सांस्कृतिक र आध्यात्मिक अर्थ पनि दिन्छ । यो पर्वको समयमा बनाइने पिङले दसैँलाई मात्र होइन, तिहार र अन्य पर्वलाई पनि जीवन्त बनाउने गरेको छ”, उनले भने ।
क्लबका सचिव दिनेश खवासले नयाँ पुस्तालाई परम्परागत खेलको महत्व बुझाउन तथा स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न पिङ हालिएको बताए।
“क्लबले लिङ्गेपिङ निर्माण गरेर दसैँको मौलिकता र सौन्दर्यलाई जोगाउने प्रयास गरेको छ । यसले स्थानीय समुदायलाई सङ्गठित गर्ने र मनोरञ्जन प्रदान गर्न पनि सघाउ पु¥याउने अपेक्षा गरेका छौँ । परम्परागत संस्कृतिको स्मरणका लागि हरेक वर्ष क्लबले यस्तो गर्दै आएको छ”, उनले भने ।
