झापा । झापाको बिर्तामोड नगरपालिकाले चालु आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक गरेको छ।
बुधबार नगरपालिकाको सभाहलमा पुस्तक सार्वजनिक गरिएको हो।
नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला तथा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा पुस्तिका सार्वजनिक गरेका हुन्।
बिर्तामोड नगरपालिकाले चालु आर्थिक बर्षका लागि एक अर्ब ३९ करोड ९६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो।
पुस्तिका सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैको भूमिका रहने बताइन्।
उनले भनिन्, ‘पुस्तकमा सबैकुरा समावेश भएपछि कार्यान्वयन गर्न सहज हुन्छ।’
सोही बजेटको विस्तृत विवरण, नीति तथा कार्यक्रमबारे विस्तारमा उक्त पुस्तकमा समेटिएको नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए।
बजेट, नीति तथा कार्यक्रमले लिएको लक्ष्य पूरा गर्न नगरपालिका लागिपर्ने उपप्रमुख संग्रौलाले बताए।
उनले भने, ‘यदि कतै काम गर्ने कुरामा कमजोरी भए हामीलाई खबर गरिदिनु होला।’
