बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले आज (मंगलबार) झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
बिर्तामोडका सामाजिक एवम् राजनीतिक व्यक्तित्व ज्ञानुराम प्रसाईको योगदानलाई चिरस्थायी बनाउँदै सामाजिक कार्य गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना भएको थियो । प्रतिष्ठानमार्फत यसअघि अदुवा खोला करिडोरमा वृक्षरोपण गरिएको छ ।
दोस्रो सामाजिक कार्यक्रम अन्तर्गत प्रतिष्ठानले रक्तदान गरेको अध्यक्ष बद्रीप्रसाद भट्टराईले बताए ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख एवम् प्रतिष्ठानकी संरक्षक पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीसहित १०१ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले प्रतिष्ठानमार्फत विभिन्न सेवामूलक सामाजिक अभियानहरू सञ्चालन गरिने बताउँदै सदस्य विस्तार अभियानलाई तीव्र बनाइने बताइन्।
प्रतिष्ठानका सचिव सुब्रत न्यौपानेका अनुसार इच्छुक सबै महानुभावलाई प्रतिष्ठानले सदस्यता दिइरहेको छ । यसअघि बसेको प्रतिष्ठानको बैठकले इच्छुकहरुलाई सदस्यता दिने निर्णय गरेको थियो ।
