झापा । राष्ट्रिय युवा संघ अर्जुनधारा ७ ले अर्जुनधारा जलेश्वर धामको खडेबाबा स्मृति पार्कको सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
युवा संघले अघि सारेको ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रम आयोजना गरिएको संघका स्थायी कमिटी सदस्य रोजिना पाण्डेले जानकारी दिइन् ।
विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा समेत वृक्षारोपण भएको हो ।
पर्यावरण सन्तुलन कायम राख्न, प्राकृतिक प्रकोप न्यूनीकरणसँगै हरियो वन नेपालको धन भन्ने भनाइलाई थप मजबुत बनाउन वृक्षारोपण अभियान सञ्चालन गरिएको पाण्डेले बताइन् ।
कार्यक्रममा धाम समितिका शिवलाल खतिवडा, अर्जुनधारा नगरपालिका बोर्ड सदस्य कौशिलाल परियार, वडा न ७ का अध्यक्ष गोविन्द खतिवडा, सदस्य हरि कटवाल लगायतको सहभागिता रहेको थियो ।
सरसफाई तथा बृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि सहभागिता जनाएका थिए ।





