झापा । आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने कोशी प्रदेश सभाको बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ ।
निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको हो ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपरान्ह ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नयाँ सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै कांग्रेसले बैठक बहिष्कार गरेको थियो । दुई वटा बैठकसम्म सांसदलाई रोकेको कांग्रेस तेस्रो बैठकमा सहभागी बन्न लागेको हो ।
केही दिन अगाडि बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रदेश सभाको बैठकमा सहभागी हुने कि नहुने भनेर विवाद हुने देखिएपछि सभापति शेरबहादुर देउवाले विवाद मिलाउन केन्द्रीय सदस्यलाई नै पठाएका थिए ।
सो बैठकमा १६ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेरै बैठकमा सहभागी हुने जनाएका थिए ।
हिक्मत कार्की वैशाख २७ गते नेपालको संविधानको धारा १६८ को उपधारा ९५० अनुसार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
त्यसपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई बर्खास्त नगरी नयाँ सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यो मुद्दा विचारधारा अवस्थामा रहेको छ ।
