बिराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर १६ ग्राम ९५० मिलिग्राम र प्रतिबन्धित औषधी डाइजेपामलगायत जम्मा १४७ एम्पुल र नगद ११ हजार ८ सय रुपैयाँसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ भने सोही दिन मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर, औषधी एभिल, लुपिजेशिक गरी १२ ट्याब्लेट र २४ के.जी अवैध गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको छ ।
त्यस्तै सुनसरीको इटहरी उप-महानगरपालिका- १ पिपल चौकबाट १ ग्राम २४० मिलिग्राम र नगद ८ हजार ५ सय रुपैया सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
