“नेपालको प्रमुख तीन पदमा महिला ।” ओहो, सुन्दै कस्तो आनन्द आउने । मनै प्रफुल्लित हुने ।
हुन पनि हो, नेपाल भन्ने देशको इतिहासमा नै, यो एउटा यस्तो क्षण हो, जसले इतिहासको एउटा कालखण्डमा आएर एउटा सुनौलो इतिहास रचेको छ ।
राष्ट्रपति महिला, सभामुख महिला, अनि कानुनी राज्यको सिंहासनमा बसेर देशलाई कानुनमा बाध्ने ठाउँ, सर्वोच्च अदालको प्रधान्यायधीश पदमा महिला ।
यति भएपछि त देशमा अरु कुन शक्ति चाहियो र । तर, यी सब कुरा भन्दा सुन्दा जति आनन्द आउँछ नि, वर्तमान सन्दर्भमा देश भित्रको अवस्था हेर्दा भने त्यतिनै मन पोल्छ ।
आम सञ्चारका माध्यममा आएका समाचारले आङ सिरिङ्ङ हुन्छ । हामो त्यस्तो युगमा बाचिरहेका छौं जुन इतिहासमा हामी महिला नै प्रताडित छौं । हामी नै दुःख भोगिरहेका छौं ।
हो, अहिले म एउटा यस्तो देशको कुरा गर्दैछु, जहाँ देशको सर्वोच्च तीन पदमा महिला छन्, तर पनि गाउँरगाउँमा हाम्रा दिदी बहिनी कहिले बोक्सीको आरोपमा मलमूत्र खुवाएर मारिन्छन् त कहिले रजश्वलाको बेलामा आफ्नै घर परिवारका सदस्यले अछुतको व्यवहार गर्दै ओडार जस्तो छाउघरमा पुर्याउँछन् । अनि त्यहीँ उसले मृत्युवरण गर्नुपर्छ ।
यति मात्र हैन, कहिले सुत्केरी महिला उपचार अभावमा हाम फालेर मर्छिन् त कहिले दाइजो नल्याएको निहुँमा तिरस्कृत भएर सडक सडक भौतारिन्छन् हाम्रा दिदी बहिनी ।
खै, के भयो उपलव्धि, ती प्रमुख तीन पदमा महिला पुग्दा ? कहाँ छ कानुनी राज्य ? तीन महिला उच्च पदमा पुगेकोमा हामी जस्ता महिलाले अनुभूति गर्न पाउने कि नपाउने ?
आज जापान, चीन, अमेरिका लगायत अन्य विकसित देश पुगेर घुमेर हाम्रा दिदी बहिनीहरु संसार देखेर आइसक्दा पनि, गाउँका हाम्रा चेलीले भने रजश्वलाको बेलामा छाउघरमा निसास्सिएर मर्नु पर्ने ?
त्यही रजश्वला नहुँदा सन्तानको रहर उसै विलाएर जान्छ । कारण त्यो सन्तान प्राप्तिको एउटा प्रक्रियाको रुपमा विज्ञानले लिने गरेको छ । त्यसैले म भन्छु, रजश्वलाको प्रक्रिया अभिसाप होइन, प्रकृतिको बरदान हो ।
तर किन अछुतको व्यवहार गरिन्छ, जानी जानी ? कसैसंग छ उत्तर ?
डलरका भरमा चलेका एनजिओ, आएनजिओ चलाउनुहुने शहरका दिदीहरु, तपाईंहरुको त्यो हजारौं डलरको प्रोजेक्टले खै के परिवर्तन ल्यायो समाजमा, हाम्रा गाउँहरुमा ?
रजश्वला भनेको मासिक रुपमा शरीरबाट विकार तत्वहरु बाहिरिने प्रकृया हो भनेर खै बुझाउन सक्नु भएको गाउँरगाउँमा गएर ?
आज देश विदेशका ठूला ठूला संचारमाध्यमहरुले ठूला ठूला अक्षरमा ठूला ठूला स्वरमा “Nepali girl dies due to banned menstruation practice”,
“Nepal failing to protect women?15-year-old dies in ‘menstruation hut’,
“Nepali Girl Dies in Menstruation Shed” भनेर लेख्दा, कराउँदा हामीलाई किन आत्मग्लानी महशुस हुँदैन ? यति सब हुँदा सम्म पनि खै, किन बिझेन हाम्रा तीन प्रमुख पदका सम्माननीय ज्यूहरुलाई ? महिला प्रमुख पदमा रहेको बेलामा पनि हामीले यो सब कुप्रथाबाट छुटकारा पाउन नसक्ने ? के फेरि पनि हामी महिलाका लागि चन्द्र शमशेर नै जन्मनु पर्ने हो ? के पुनः चन्द्र शमशेर नै चाहियो अब ? जस्ले सती प्रथा जस्तै छाउपडी उन्मुलन गरुन् ?
केही समय अघि नेपाली भाषी बाहुल्य भारतको सिक्किमका मुख्य मन्त्री पवनकुमार चामलिङले एउटा भव्य समारोहमा सिक्किमा छाउपडी प्रथा छैन भनेका थिए ।
हामी चाहीँ किन नसक्ने ? के ले रोकेको छ ? कानुन छ भने त्यो कानुन किन सुतेर बसेको छ ?
बास कामना गर्छु, अबका दिनमा कसैले पनि छाउपडीमा ज्यान गुमाउनु नपरोस् । महिलालाई बोक्सी वा अनेप रुप लादेर मलमूत्र नखुवाइयोस्, गाउँ तथा घर निकाला नगरियोस् ।

