चिया एक पेय पदार्थ हो, विश्वका सबै व्यत्तिहरुले पानी पछाडी सर्वाधिक पिउने पेय पदार्थ हो । पेय पदार्थको रुपमा पिईने चिया एक बहुवर्षिय विरुवा चियाबाट बनेको हुन्छ । जैविक विविधताले धरिएको यस पृथ्वीमा चियाको पनि पृथक स्थान छ । चियालाई वैज्ञानिक भाषामा Camellia sinensis भनिन्छ । चिया एक बहुउपयोगी विरुवा हो । प्राचिन चिनमा चियालाई औषधिको रुपमा पनि लिईन्थ्यो र आज पनि लिदै आएको छ । चियाको बोटबाट उत्पादन हुने चियाको मुनालाई प्रशोधन गरि तयारी चिया बनाईन्छ र उत्त चिया तातो पानीमा डुवाई पिउने गरिन्छ । यस अर्थमा चिया एक विरुवा मात्र नभई पानी पछाडि सर्वाधिक पिईने पेय पदार्थ पनि हो जसले गर्दा चियालाई बहुउपयोगी पनि भनिएको हो ।
आधुनिक विश्वमा चियालाई अर्थोत्पादनको रुपमा व्यवसायिक खेति पनि गरिदै आएको छ । व्यवसायिक खेति गरिदै आएको चियाले सर्वसाधारण नागरिकको जिवनस्तर उकास्न मद्दत गरेको छ नै यसको साथसाथै पर्यारिणलाई पनि सुन्दर बनाएको छ । चिया सबैखाले तापक्रम र उचाईमा हुने बहुआयामिक बहुवर्षे विरुवा हो । चियाको बोट बहुवर्षे र रुख नै हुने हुँदा यसको जरा जमिनको धेरै तल सम्म गएको हुन्छ । जसले गर्दा भिरालो ठाँउमा चिया लगाउनाले भिराले ठाँउमा हुन सक्ने भुक्षय, पहिरो जस्ता प्रकोपलाई रोक्दछ । पर्यावरणमा रहेका नाङ्गा तथा अन्य कुनै पनि कार्यको लागि प्रयोगमा नआएको माटो भएको भुभाग जसमा अन्य खेति सजिलै हुदैन त्यस्तो ठाँउमा पनि चिया खेति गर्न सकिन्छ । त्यस्तो ठाँउमा गरिने चिया खेतिबाट अर्थोत्पादन त हुन्छ नै त्यसको साथसाथै विभिन्न प्राकृतिक विपत्तिबाट पनि बच्न सकिन्छ ।
विश्वको जनसंख्या बढ्दो छ । जनसंख्याको आवश्यकता पुरा गर्नको लागि रुख विरुवाहरु काटिदै छन् । नयाँ विरुवा लगाउने त परको कुरा भएको रुखविरुवाहरु पनि आवश्यकता अनुरुप काट्ने दिशामा मानिसहरु गएका छैनन् । यसको अतिरित्त विभिन्न यातायातको साधन, कलकारखाना र उर्जा केन्द्रबाट उत्सर्जित वायु प्रदुषनिय ग्यासहरुले गर्दा पृथ्वी तापक्रम दिनानुदिन बढदै गएको छ जसलाई हामी हरित वाष्पिकरण वा Global Warming भनिन्छ । Global Warming को कारणले गर्दा पृथ्वीमा अतिवृष्ट्रि, अनावृष्ट्रि, बाढी, पहिरो जस्ता प्राकृतिक बिपत्ति बढिरहेको छ साथसाथै ओजोन तहको विनाशले गर्दा रेडियो विकिरणको नकारात्मक प्रभाव बढिरहेको छ । यि विविध समस्याहरु सँग जुझ्न मानवजातिले कुनै पनि ठोस कदम चालेको छैन । वातावरण सम्वन्धि जनचेतना जगाउन वातावरण संरक्षण मंच नेपाल जस्ता संस्थाहरु सक्रिय छन् तर मानिसका आवश्यकता पनि पुरा हुने र वातावरण पनि जोगिने अर्थात सर्प पनि मर्ने लौरी पनि नभाचिने जस्तो खालको समाधान निस्केको छैन । यस्तो खालको समाधान निस्कन वर्षै लाग्न सक्छ तर पर्यावरणलाई हराभरा राख्न चियाले पनि गहिरो भुमिका खेलेको हुन्छ ।
चिया आफैमा रुख जन्य विरुवा भएको हुँदा खेर गएको सबै भुभाग र नाङ्गा पाखाहरुमा चिया लगाउनाले केहि हद सम्म भए पनि पर्यावरणलाई जोगाउन मद्दत गर्छ । नाङ्गा पाखामा चिया लगाउनाले भुक्षय, पहिरो जस्ता प्राकृतिक विपत्ति हुनबाट जोगिन्छ । चिया आफैमा राम्रो रुख हुने भएकाले चिया लगाएको ठाँउ सुन्दरताले भरिपुर्ण हुन्छ जसबाट आन्तरिक तथा बाह्य पर्यटनको पनि संभावना हुन्छ । चिया एक पटक लगाईसकेपछि सयौँ वर्ष सम्म पनि रहने हुँदा पर्यावरणिय शुरक्षा पनि सयौँ वर्ष सम्म हुन्छ । तसर्थ चिया बहुआयामिक, बहुउपयोगी पेय पदार्थको साथसाथै पर्यावरणको पनि आधार हो ।