काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई गत सोमवार सभाध्यक्षले दिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका एमाले नेता हिक्मतकुमार कार्कीको रिट निवेदनमा सुनुवाइ गर्दै यो आदेश दिएको अदालतका प्रवक्ता बिमल पौडेलले बताए।
“अध्यक्षता गर्ने सदस्यले दिएको मत समेत गणना गरी श्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्नुभएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ संसदीय अभ्यास, संवैधानिक नैतिकतालगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो,” अदालतको आदेशमा भनिएको छ।
अदालतले मुद्दाको टुङ्गो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका र नीतिगत प्रकृतिका निर्णय नगर्न पनि थापा नेतृत्वको सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
