विराटनगर । संवैधानिक प्रावधानको ठाडो उल्लंघन गर्दै कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ ।
कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा उपस्थित ७७ जना सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत परेको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ । सोमबारको प्रदेश सभा बैठकमा सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरीले पनि मत दिएका थिए ।
संविधानको धारा १६८ का अनुसार सभाध्यक्ष गर्ने सांसदलाई विश्वासको मत दिने अधिकार छैन । तर पक्ष र विपक्षमा बराबर मत भए निर्णायक मत दिने अधिकार भने संविधानले दिएको छ ।
सोमबार साँझ अबेर गरी सुरु भएको मतदान प्रकृयामा प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चर्को विरोधको बीच मतदान प्रकृया अगाडि बढेको थियो ।
कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइन मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।
