विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूले विश्वासको मत पाउने बताएका छन् ।
विराटनगरस्थित प्रदेशसभाको बैठकपछि शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ संख्या छ । बहुमत ४७ नै हो मैले विश्वासको मत पाउँछु,’ उनले भने, ‘मैले मागेको समयमा एक दिनपछि सारिएको विषय सल्लाहमै भएको हो ।’
प्रतिपक्षी दलहरूले सरकारले विश्वासको वातावरण बनाएन भनेर भनिरहेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने विश्वासको मत लिने दिनसम्ममा आफूले छलफल गर्ने बताए ।
‘विश्वासको मत लिने वातावरण बनाउनकै लागि भदौ ४ गतेसम्मको समय लिएको हुँ,’ थापाले भने ।
उनले उपसभामुखले राजीनामा दिएर अप्ठ्यारो परिस्थिति सिर्जना हुने अवस्था भए त्यस बेला अर्को विकल्पमा जाने पनि बताए । तर त्यस्तो अवस्था सिर्जना नहुने उनले बताए ।
