काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँले मन्त्री मागेपछि सत्तागठबन्धनमा पुनः विवाद मच्चिएको छ ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको बुधबार बिहान १० बजे हुने भएको पद तथा गोपनीयताको सपथ ५ बजेका लागि सरेको छ । प्रचण्डका ज्वाइँ जीवन आचार्यले मन्त्री मागेपछि भागबन्डामा किचलो थपिएको बताइएको छ ।
हिजो (मंगलबार) मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको थियो । विवाद बढेपछि मुख्यमन्त्री थापाको शपथ बुधबार साँझ ५ बजेका लागि सरेको छ ।
थापालाई मुख्यमन्त्री बनाउन प्रदेश सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई माओबादी केन्द्रले मन्त्री बनाउन लागेकोमा आचार्यले गौतमलाई रोक्दै आफूले मन्त्रीमा दाबी गरे ।
आचार्य यसअघि एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा बनेको कोशी प्रदेश सरकारमा पनि मन्त्री बनेका थिए ।
