विर्तामोड । चिया समस्या अध्ययन् तथा समाधान गर्न बनेको उच्चस्तरीय समितिले चिया अक्सन केन्द्र स्थापना गर्नुका साथै किसानहरुका लागि अनुदानमा निर्माणाधीन चिया उद्योगको निर्माण सम्पन्न भए चिया समस्या समाधान हुने बताएको छ । कृषि विभागका उपमहानिर्देशक सूर्यप्रसाद पौडेल संयोजक रहेको समितिले उक्त निश्कर्ष निकालेको हो ।
गत शुक्रबारदेखि चियाका समस्याका विषयमा उक्त समितिले अध्ययनको काम थालेको थियो । नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडमा बुधबार पत्रकारहरुसंग कुरा गर्दै समितिका संयोजक पौडेलले चिया अक्सन केन्द्र स्थापना गर्न र निर्माण अधुरो रहेका चिया कारखाना सम्पन्न गर्न सरकारले ढिलो गर्न नहुने बताए ।
झापाको बाहुन्डाँगीमा रहेको शुभ चिया, हल्दिबारीमा रहेका पाराखोपी र साना किसानका कारखानाको काम लगभग ७० प्रतिशत सकिएको छ । पौडेलको संयोजकत्वमा रहेको ९ सदस्यीय समितिले शनिबार बाहुन्डाँगीमा रहेको शुभ चिया किसान सहकारी संस्था, हल्दिबारीमा रहेको पाराखोपी चिया उत्पादक सहकारी संस्था र हल्दिबारीमै रहेको साना किसान सहकारी संस्थाको स्थलगत अध्ययन् गरेको थियो । समितिले चिया उद्योगीहरुको संगठन नेपाल चिया उत्पादक संघ पनि छलफल गरेको थियो ।