काठमाडौं । पहिचान पक्षधरहरुले पहिचानको आधारमा प्रदेश एकको नाम राख्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा आयोजित कोशी प्रदेश पुनः नामांकनको आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले प्रदेशको नामले प्रदेशमा रहेको एतिहासिक, प्राचिन, सांस्कृतिक विविधताहरुलाई समेटेको हुनुपर्ने बताए ।
पहिचानको आधारमा नामाकरण नभएसम्म आन्दोलन नरोक्ने उनीहरुको भनाइ छ । किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले कोशी प्रदेशको नाम पहिचानमा आधारित हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘हाम्रो निरन्तर खबरदारी थियो, नामाकरण गर्दा सर्वसम्मत तरिकाले हुनुपर्छ, संघीयतालाई इमान्दारिताका साथ कार्यान्वयन गर्ने गरी, प्रदेशलाई बलियो गर्ने गरी, प्रदेशको एतिहासिक, प्राचिन, सांस्कृतिक विविधताहरुलाई समेट्दै नामाकरण गर्नुपर्छ भनेर हाम्रो खबरदारी थियो । नाम राख्दा पहिचानलाई समेटेर राख्नु पर्छ ।’
त्यस्तै किरात राई यायोक्खाका महासचिव निरन्ती तुम्बापोले हालसम्म कोशी नामाकरणआन्दोलनमा एक जनाको मृत्यु, ३ सय जना घाइते हुनुका साथै २ दर्जन व्यक्तिहरु जटिल अवस्थामा रहेको जानकारी दिदैँ उनीहरुको माग वेवास्ता नगर्न चेतावनी दिइन् ।
उनले आन्दोलनमा घाइते भएता पनि आफ्नो अधिकार प्राप्तीको लागि निरन्तर लडिरहेको बताइन् ।
उनले भनिन्, ‘कोशी नामाकरण भैसकेपछि हामी संयुक्त रुपमा आन्दोलनमा छौं । यस भित्र हामी सामाजिक र राजनीतिक दुवै मानिसहरु समावेश छौं । हामी संगै लड्ने एक जनाको मृत्यु भएको छ । ३ सय जना घाइते भएका छन् । त्योमध्ये पनि २ दर्जन जति जटिल अवस्थामा रहेका छन् भने कतिपय साथिहरु प्रहरी थानामा रहेका छन् । हामी घाइते भए पनि हामीले आफ्नो अधिकार प्राप्तिको लागि लडन पर्छ भनेर लडिराखेका छौं ।’
