बिराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा आन्दोलन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच मंगलबार विराटनगरमा झडप भएको छ ।
कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हान्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ । अहिले प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनामा १२ जना भन्दी बढी घाइते भएका छन् । प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् । केही दिनअघि आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा ज्यान गएपछि आन्दोलन झन् चर्किएको हो । सोमबार प्रदेश सरकारले मृतक लिम्बुको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
मंगलबार बिराटनगरको होटेल बिगमा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी आएका सांसदलाई घेराउ गर्ने भन्दै भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।
आन्दोलनकारीले प्रहरीको घेरा तोडेर होटलभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । आन्दोलनकारीले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
मोरङ प्रहरीका एसपी दीपक पोखरेलका अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन् । आन्दोलनकारीतर्फ पनि केही घाइते भएको बताइएको छ । झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो ।
