काठमडौँ। उपप्रधान तथा ऊर्जा जलश्रोत तथा सिचाईँमन्त्री राजेन्द्र लिङदेनले १५०० मेगावाटसम्मको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णयमा आफ्नो नाम गलत ढंगले प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।
करिब ४ वर्षदेखि पीपीए रोकिँदा जलविद्युत्मा नयाँ लगानी पनि रोकिन पुगेको थियो। त्यसैलाई मध्यनजर गर्दै गत माघ २६ गते मन्त्री लिङ्देनको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको ९३०औं बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाको १५ सय मेगावाट बराबर विद्युत् खरिद सम्झौता गर्ने निर्णय गरेको थियो। पीपीए खुला गर्ने निर्णयको निजी क्षेत्रले समेत स्वागत गरेको थियो। तर उक्त निर्णय गर्दा मन्त्री लिङदेनले एक अर्ब रकम लिएको भन्दै प्रचार गरिएपछि लिङदेनले खण्डन गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फृत मन्त्री लिङदेनले भनेका छन्, ‘केही दिन अघि नेपाल विधुत प्राधिकरणले निजी क्षेत्रसँग विधुत खरिद सम्झौता पीपीए गर्दा मैले एक अरब रकम लिएको भनि सुनियोजित ढंगबाट गरिएको दुष्प्रचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । रकम लिएको भनि सुनियोजित ढंगबाट गरिएको दुष्प्रचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
उनले आफूले विद्युत खरिद सम्झौतामा मात्र होइन आफूले सम्हालेको मन्त्रालयका कुनै निर्णय प्रक्रियामा एक रुपैयाँ घुस लिएको मात्र पाइए खुलामञ्चमा गएर झुण्डिन तयार रहेको बताएका छन्।
उनले भनेका छन्, ‘विद्युत खरिद सम्झौतामा मात्र होइन मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनैपनि निर्णयमा मैले एकरूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेरनै काम गर्नेछु। मैले यो कसैलाई भन्न र प्रचारका लागि मात्र प्रयोग गरेको वाक्य होइन । राम्रो गर्ने प्रयत्न गर्नेछु । नराम्रो गर्ने छैन। निश्चिन्त रहन मेरा शुभेच्छुकहरुमा अपिल गर्दछु ।’
Read more: पीपीए खुला गर्ने निर्णयमा एक रुपैयाँ घुस खाएको प्रमाणित भए खुलामञ्च गएर झुण्डिन तयार छु: ऊर्जामन्त्री लिङ्देन
