काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन्।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालयमातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोका रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर र निवासबाट शासन चलाएको तीतो अनुभूति तपाईं हामी सबैसँग छु, उनले भने, ‘यसपटक त्यो गल्ती दोहोर्याउनु हुँदैन। विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु।’
उनले यस पटक आफूले सिंहदरबारबाटै शासन गर्न चाहेको बताएका छन्।
‘यसपटक सिंहदरबारबाटै शासन गर्ने सोचेको छु, यसको विशेष अर्थ छ’, प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो। राज्यका सबै अंगलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो।’
उनले आफू नयाँ अठोटका साथ काम गर्न आएको पनि बताएका छन्। ‘तपाईंहरूले आफ्नो कुरा निर्धक्कसाथ राख्न सक्नुहुन्छ। म नयाँ अठोटका साथ काम गर्न आएको छु, उनले भने,ुसुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्ने अठोटका साथ आएको छु। सदनमा मलाई प्राप्त विश्वासको मत पनि त्यही जिम्मेवारीसाथ आएको छ। त्यसलाई मैले गम्भीर रूपमा लिएको छु।’