काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको सभामुखको लागि आज विहिबार संसदमा मतदान हुँदैछ । विहान ११ बजेपछि बस्ने बैठकमा मतदान हुनेछ । सभामुखको लागि सत्ता गठबन्धनले एमालेका देवराज घिमिरेलाई र नेपाली कांग्रेससहितका दलले कांग्रेसकी इश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।
झापाबाट निर्वाचित घिमिरेलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सरकारमा सहभागि दलहरुको समर्थन रहेको छ । घिमिरेको बहुमत आउने पक्का जस्तै छ ।
नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सांसद बनेकी ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको छ । एकिकृत समाजवादी, जसपा र लोसपाका सांसदले पनि न्यौपानेलाई सघाउने सम्भावना छ । एकिकृत समाजवादी त समर्थक नै बसेको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बुधबार पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।