काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीका अवसरमा आयोजित चियापानमा सबैलाई निम्तो दिएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको प्रस्तावमा बोल्दै लिङ्देनले भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको चियापानमा सबैलाई निम्तो दिएका हुन्।
राप्रपाको माग कै कारण सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ।
उनले सरकारले पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा धन्यवाद समेत दिएका थिए ।
‘म सरकारप्रति धन्यवाद व्यक्त गर्न चाहान्छु । राष्ट्रपितालाई सम्मान गरेर जाँदा कसैलाई हानी हुँदैन,’ उनले भने, ‘पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने देश छ । नेपाल भन्ने देशमा भएर पुष्पकमल दाहाल प्रधानमन्त्री हुनु भएको हो । उहाँलाई सम्मान गर्दा हामी पछाडि फर्किएको हुँदैन ।’
सरकालाई समर्थन गर्ने निर्णय गरेको राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय पनि गरिसकेको छ।