काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार अपराह्न राष्ट्रपति भवन शितल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।
प्रचण्ड आइतबार नेपालका ४४ औँ प्रधानमन्त्री नियुक्त भएका थिए। उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका हुन्।
तीन उपप्रधानमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन्।
पौडेलले अर्थ मन्त्रालय, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन्। उनीहरुको जिम्मेवारी पछि तोकिने छ।