काठमाडौं। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ पुस ७ गते हुने भएको छ।
मंसिर ४ को निर्वाचनबाट चुनिएर आएका प्रतिनिधिहरुलाई ज्येष्ठ सदस्यले ७ गते दिउँसो १ बजे शपथ गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ।
शपथ कार्यक्रम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। २७५ जना निर्वाचित भएकाहरुमध्येका ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले ६ गते शपथ गराउनेछिन्।
निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार लोसपाका महिन्द्रराय यादव सबैभन्दा ज्येष्ठ देखिन्छन् ८५ वर्ष। तर त्यो उनको नागरिकतामा संलग्न उमेर मात्र हो। यसअघि पनि उनले यही कारण देखाउँदै ज्येष्ठ सदस्यको शपथ लिएका थिएनन्। उनको सट्टा महन्थ ठाकुरले लिएका थिए।
यसपटक यादवले नलिए राप्रपाका पशुपति शम्शेर राणाले ज्येष्ठताका आधारमा शपथ लिनेछन् र अन्य २७४ जनालाई शपथ गराउनेछन्। उनैले सभामुख चयन नभएसम्म संसद बैठक पनि सञ्चालन गर्नेछन्। तर अहिलेसम्म ज्येष्ठ सदस्यबारे टुंगो लागिनसकेको प्रवक्ता पाण्डेले बताए।