काठमाडौं। सर्वोच्च अदालते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने भनी संसद् सचिवालयका महासचिवले जारी गरेको पत्र कार्यान्वयनमा रोक लगाएको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले संघीय संसद्का महासचिव भरत गौतमले लेखेको पत्र बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
सर्वोच्चको यो आदेशपछि राणालाई क्लिन चिट दिने निर्णय हाललाई यथास्थानमा रहँदै उनको निलम्बनले निरन्तरता पाएको छ।
मंगलबार राणाले प्रतिनिधि सभाको नयाँ निर्वाचन भएकाले प्रतिनिधि सभामा आफूविरुद्ध विचाराधीन महाभियोगको औचित्य समाप्त भएकाले काममा फर्कनका लागि जानकारी गराइदिन भन्दै निवेदन दिएका थिए।
राणाको उक्त निवेदन बमोजिम गौतमले उनले निर्वाचन भएर नयाँ प्रतिनिधि सभा आउन लागेको भन्दै महाभियोग निष्कृय भएको पत्र दिएका थिए।