नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनादेशको सम्मान गर्दै नेकपा एमाले प्रतिपक्षमा बस्ने बताएका छन्।
सम्पन्न निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने अपेक्षा गरिएको भए पनि सत्तामा रहेका दलहरुले गठबन्धन गरेका कारण अपेक्षा अनुसार निर्वाचनको परिणाम हासिल गर्न नसकेकोले जनादेशको सम्मान गर्दै प्रतिपक्षमा बस्ने बताएका हुन्।
शुक्रबार बुटवलमा पत्रकारहरुसँग संक्षिप्त रूपमा बोल्दै पौडेलले निर्वाचनको जनादेश एमाले सरकारमा जान नभई प्रतिपक्षमा बस्ने रहेको बताएका हुन्।
‘निर्वाचनले दिएको जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमा रहेर आफ्नो सशक्त भूमिका निर्वाह गर्छ, गठबन्धनमा रहेका दलहरूसँग टुक्राटाक्री जोडेर भए पनि उहाँहरूले सरकार बनाउनुहुन्छ,’ उनले भने।
पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले एमालेका विरूद्ध सत्तामा रहेका दलहरूले गठबन्धन गरी एमालेलाई किनारमा पार्न खोजे पनि समानुपातिक मतमा सबभन्दा धेरै मतका साथ एमाले दोस्रो ठूलो दल बन्न पुगेको बताए।
नेता पौडेलले निर्वाचनबाट केही नयाँ दलहरूको उदय भए पनि भविष्यमा उनीहरू गर्ने कामबाट जनताले मूल्यांकन गर्ने बताए।